उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जन गरी समय सान्दर्भिक बनाउने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको शुक्रबार हुने निर्वाचनमा राजेन्द्र भण्डारी अध्यक्ष उम्मेदवार रहेको समूहको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सम्बन्धित निकायको सल्लाह र सुझावका आधारमा जतिसक्दो चाँडो व्यावसायिक कल्याणकारी कोषसम्बन्धी निर्देशिका ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “ऐन त्यति बेलाको आवश्यकता र चेतनाअनुसार बन्यो, अब अहिले यो क्षेत्रमा नयाँ समस्या देखापरेका छन्, ती नयाँ समस्या समाधान गर्नका निम्ति नयाँ नीति निर्माण गर्नुपर्छ, त्यसकारण रोजगार ऐनलाई पनि परिमार्जन गर्दै जानुपर्छ ।” उहाँले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै वैदेशिक रोजगार व्यवसायी र वैदेशिक रोजगार व्यवसायीमा जाने श्रमिकको आपसी सम्बन्धलाई पनि सन्तुलित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । “अहिले एउटा देशको नागरिक अर्को देश नगइकन आजको दुनियाँ चल्दैन, यो अन्तरनिरर्भरताको दुनियाँ हो, तर अब नेपाली विदेशमा जाने होइन, विदेशी रोजगारीका निम्ति नेपालमा आउने परिस्थिति बनोस् भन्ने हामी सबैको चाहना छ, तर आज हामी जहाँ छौँ त्यही ठाउँबाट अगाडि बढ्ने हो, आजकै दिनमा वैदेशिक रोजगार व्यवसायलाई रोक्छु भनेर हुँदैन”, उहाँले भन्नुभयो ।रासस
