फुटबल खेल सञ्चालन भइरहेको वालिङ खेल मैदानमा आज हेलिकप्टर बसेपछि सिर्जित घटनाको विषयमा छानबिन गरी दोषीमाथि आयोजकले कारबाहीको माग गरेको छ । खेल जारी रहेका बेला मैदानमा हेलिकप्टर अवतरण गरेपछि खेल हेर्न आएका दर्शकले हेलिकप्टरका पाइलट तथा यात्रुमाथि हातपात गरेपछि अवस्था असामान्य बन्न पुगेको थियो । स्याङ्जाको वालिङ–८ स्थित खेल मैदानमा आयोजक वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच भइरहेको दोस्रो सेमिफाइनलको पहिलो हाफको ३५औँ मिनेट आसपासमा खेल मैदानमा हेलिकप्टर अवतरण गरेपछि आक्रोशित दर्शकले हातपात गरेका थिए । राष्ट्रियस्तरको खेल भइरहेको स्थानमा प्रशासन तथा स्थानीय आयोजक क्लबको अनुमति विना खेल मैदानमा विना सूचना, विना जानकारी हेलिकप्टर अवतरण गर्दा दर्शक आक्रोशित भएका हुन् । हेलिकप्टर अवतरण गर्ने वरिपरि ठाउँहरू हुँदाहुँदै पनि केही व्यक्तिको दबाबमा खेल भइरहेको मैदानमा अवतरण गरी खेलमा अवरोध सिर्जना गर्न खोजिएकाले समस्या उत्पन्न भएको वालिङ युनाइटेड फुटबल क्लबका अध्यक्ष लालबहादुर ज्वारचनले बताउनुभयो ।रासस