५ माघ, काठमाडाैं ।
चिनियाँ नयाँ वर्ष एवं वसन्त उत्सवका अवसरमा नेपालका लागि चीनका राजदूत छन् सङ्ले आज साँझ यहाँ एक स्वागत समारोहको आयोजना गर्नुभयो ।
समारोहका प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको सामाजिक–आर्थिक विकासमा चीनबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता ज्ञापन गर्नुभयो ।
राजदूत छन्ले चीनप्रति नेपाली जनताले देखाएको सद्भावबाट आफू प्रभावित भएको बताउँदै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत दुई देशबीचको साझेदारीमा विकास–निर्माणका परियोजना दु्रतगतिमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालको विकास प्रयासमा चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै रणनीतिक साझेदार नेपाललाई आफ्नो मुलुकले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, उद्योगपति, व्यापारी, कलाकार, सञ्चारकर्मी, काम र व्यवसायका सिलसिलामा काठमाडौँमा रहेका चिनियाँ नागरिकको उपस्थिति थियो ।
समारोहमा चीन र नेपालको संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । रासस