राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा यही माघ १ गते ७२ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै पुरानो जहाजलाई विस्थापित गरी नयाँ जहज सञ्चालनमा ल्याउनुपर्ने र नेपाली आकाशलाई सुरक्षित बनाउन सरकारसँग आग्रह गर्नुभयो । नेकपा (एमाले) का इन्दु कडरियाले सुरक्षित मानिएको हवाई यातायात दुर्घटना हुँदै जानुले हवाई सुरक्षाप्रति धेरै आशङ्का उब्जिएको हुनाले हवाई सुरक्षालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । स्वतन्त्र सांसद खिमलाल देवकोटाले नेपालमा इसाई धर्म मान्नेहरुले धर्म परिवर्तन गराउन लागिरहेको र गरिबी तथा बेजोगारीको फाइदा उठाउँदै धर्म प्रचार गरिरहेको हुनाले उक्त कार्य रोक्न सरकारलाई सुझाव दिनुभयो ।रासस