सरकारले लामो समयदेखि गैरआवासीय नेपाली सङ्घ एनआरएनएसँग आबद्ध रहँदै नेपालको पर्यटन क्षेत्रका बारेमा सक्रिय नन्दबहादुर क्षेत्रीलाई मलेसियाका लागि पर्यटन सद्भावना दूत (टुरिजम गुडविल एम्बेसडर)मा नियुक्त गरेको छ । नेपालको पर्यटन क्षेत्र र विधामा सक्रिय रहँदै आउनुभएका क्षेत्रीले पर्यटन विधामा खेलेको अहम् भूमिका र निरन्तरताको फलस्वरूप आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार वर्षका लागि मलेसियाका लागि पर्यटन सद्भावना दूतका रूपमा नियुक्त गरेको हो । मन्त्रालयका सचिव सुरेश अधिकारीले लामो समयदेखि पर्यटन क्षेत्रमा लागि पर्दै आएका क्षेत्रीलाई मन्त्रीस्तरीय निर्णयानुसार पर्यटन सद्भावना दूतका रूपमा नियुक्त गरिएको बताउनुभयो । नवनियुक्त सद्भावना दूत क्षेत्रीले नेपालको पर्यटन विकासमा आफूले सक्दो काम गर्ने र मलेसियाका पर्यटकलाई नेपाल भ्रमण गर्न सहजीकरण गर्ने बताउनुभयो । सन् २००५ देखि मलेसियामा रहेका क्षेत्रीले ट्राभल्स, टुर्सलगायतका विभिन्न व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।रासस