मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १५ गतेदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी रु ७६ करोडको १० प्रतिशत अर्थात् सात करोड ६० लाख बराबरको प्रतिशेयर रु एक सय दरका सात लाख ६० हजार कित्ता शेयर आयोजनाबाट पीडित दोलखाका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो । अति पीडित क्षेत्र दोलखाको गौरीशङ्कर गाउँपालिका–५ र ६ का बासिन्दामा तीन लाख चार हजार कित्ता र पीडित क्षेत्र गौरीशङ्कर गाउँपालिका–१, २, ३, ४, ७, ८ र ९ का बासिन्दाका लागि तीन लाख ४२ हजार कित्ता शेयर छुट्याइएको छ । त्यस्तै सामान्य पीडित क्षेत्र दोलखाकै विगु गाउँपालिकाका सम्पूर्ण वडाका बासिन्दामा एक लाख १४ हजार कित्ता शेयर बाँडफाँट गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने एक करोड ५२ लाख बराबरको रु एक सय दरको एक लाख ५२ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।रासस