नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक स्व खगेन्द्रबहादुर बस्नेतको ९५औँ जन्मजयन्ती र संस्थाको ५३औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित संस्थाको केन्द्रीय कार्यालय जोरपाटी काठमाडौँमा आज विभिन्न कार्यक्रम आयोजना गरियो । संस्थाका सभापति साम्देन लामाको अध्यक्षता एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपाङ्गताको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाद्वारा सञ्चालित अर्थाेपेडिक अस्पतालका संस्थापक डा अनिलबहादुर श्रेष्ठ, संस्थाका पूर्वसभापति प्रा शङ्करराज पाठक, केन्द्रद्वारा सञ्चालित विद्यालयका पूर्वशिक्षक गोविन्द खनाल र डोल्मा ढाक्वा फाउण्डेशनका निर्देशक लोप्साङ डोल्मालाई कदरपत्रले सम्मान गरिएको थियो । सो अवसरमा टेबुल टेनिस, दौड, बास्केटबल, चित्रकला र घ्याम्पो फुटाउनेलगायतका प्रतियोगिता आयोजना गरिएको थियो भने विभिन्न विधाका खेलकुद प्रतियोगितामा सफल खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा नगरप्रमुख रिसाल, उपप्रमुख सान्नानी लामा, वडाध्यक्ष नवराज लामा, संस्थाका कोषाध्यक्ष रामप्रसाद कोइराला, उपाध्यक्ष शरद अधिकारीलगायतले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा मारवाडी सेवा समिति झापाले अपाङ्गता भएका व्यक्तिहरूलाई भोजन गराउनुका साथै विभिन्न सामग्री हस्तान्तरण गरेको थियो ।रासस