पोखरा महानगरपालिका–ं १७ मा पर्दछ सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर । पोखराको प्राचीन धार्मिक महत्वको तीर्थस्थलका रुपमा मन्दिरले चर्चा कमाएको छ । रामकालीन कहानी जोडिएको मन्दिर स्थापनाको प्रमाण भने १८औँ शताब्दीका छन् । मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीका अनुसार यहाँस्थित हरिहर मन्दिरको प्राप्त लालमोहरबाट मन्दिर विसं १८६४ सालमा स्थापना भएको पुष्टि हुन्छ । प्राचीन मन्दिर जीर्ण भएपछि पुरानै मौलिकस्वरुप अनुसार हाल रहेको मन्दिर निर्माण भएको उहाँले बताउनुभयो । पछिल्ला समयमा हरिहर मन्दिर क्षेत्रलाई व्यवस्थित गर्ने काम भइरहेको बताउँदै अध्यक्ष भण्डारीले मन्दिरको प्रवेशद्वार निर्माणसँगै मन्दिर परिसरमा हनुमानको मूर्ति, १०८ शिवलिङ, १०८ धाराआदि निर्माण गरिएको जानकारी दिनुभयो । यहाँ प्रत्येक वर्षको माघे सङ्क्रान्तिका दिन लाग्ने मेला रामकालीन समयदेखि नै सञ्चालनमा आएको किम्बदन्ती रहेको ८४ वर्षीय कर्णाखर भण्डारीले बताउनुभयो । “हरिहर मन्दिर, सीताको पाइलाको चक्रआदि यहाँको ऐतिहासिकताका ज्वलन्त प्रमाण हुन्”, उहाँले भन्नुभयो, “मन्दिरको पुनःनिर्माणका क्रममा खन्दा तत्कालीन समयमा हातले नै बनाइएका इँटा फेला परेका थिए ।” विसं २०१३ मा राजा महेन्द्रको पोखरा भ्रमणका क्रममा यहाँको ऐतिहासिकतालाई बुझेर सीता पाइला भन्ने गरिएको स्थानमा उत्खनन् गर्न लगाउँदा सीताको पाइलाको चक्र फेला परेको उहाँले बताउनुभयो । सीता पाइलाको चक्र रहेको बर पिपलको फेद नै एउटै रहनु यहाँको अर्को विशिष्टता हो ।रासस