प्रतिनिधिसभाको सभामुख पदमा आज निर्वाचित देवराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको निष्ठावान् राजनीतिक योद्धा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उहाँ झापाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभाको आजको बैठकले उहाँलाई सभामुख पदमा निर्वाचित गरेको हो । विसं २०७८ मा चितवनमा सम्पन्न नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ इन्चार्ज चयन हुनुभएको थियो । झापा, अर्जुनधारा–६ निवासी घिमिरे विसं २०१३ जेठ १३ गते ताप्लेजुङ जिल्लाको सिरिजङघा गाउँपालिका–३ मा पदमप्रसाद र भीमकुमारी घिमिरेको माइलो सन्तानका रूपमा जन्मनुभएको हो । गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गर्नुभएका उहाँले ताप्लेजुङकै भानु पब्लिक हाइस्कुलबाट एसएलसी र सुनसरीको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । काठमाडौँको त्रिचन्द्र कलेजमा स्नातक तहको अध्ययन गरिरहेका बेला उहाँ तत्कालीन नेकपा क्रान्तिकारी कोअर्डिनेसन कमिटी (कोके) को आह्वानमा बुर्जुवा शिक्षा बहिष्कार गरी पूर्णकालीन राजनीतिमा होमिनुभएको थियो । विसं २०३१ मा नेपाली कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेर उहाँ विसं २०३२ देखि झापा विद्रोहबाट जन्मिएको को–अर्डिनेसन कमिटीमा आबद्ध भई पार्टीको राजनीतिक काममा लाग्नुभएको थियो । उहाँले पञ्चायती शासन विरुद्धको सङ्घर्षका क्रममा पटकपटक जेल, हिरासत र निर्वासनको जीवन भोग्नुभएको थियो ।रासस