शिशिरको पारिलो घाममा छोरी सेक्दै हुनुहुन्थ्यो, लक्ष्मी गिरी । बुधबार दिन घमाइलो भए पनि उहाँको मन छ््याङ्ग छैन । पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहनुभएको छैन । आँखै सामुन्ने जहाज खसेको दुःखान्त दृश्यले उहाँलाई घरिघरी झस्काउँछ । मनमा अझै डरले घर गरेको छ । “सम्झँदा पनि कहाली लाग्छ, मुटु ढक्क फुल्छ”, ३९ वर्षीया गिरीले भन्नुभयो, “घरमाथिबाट ढल्किँदै आएको जहाज एक्कासी बजारियो र आगो लाग्यो ।” माघे सङ्क्रान्तिको दिन विहान गिरीले आँगनमा छ महिनाकी छोरीलाई दूध खुवाउँदै हुनुहुन्थ्यो । बुबा बेल पनि घरमै हुनुहुन्थ्यो । ठूली छोरी इरिस्ना साथीसँग खेल्न गइकी थिइन् । त्यहीबेला ठूलो र डरलाग्दो आवाज लक्ष्मीका कानमा प¥यो । माथितिर हेर्दा जहाज घरमै छोइएला जसरी आइरहेको थियो । छिनभरमै जहाज गिरीको घरदेखि एक सय मिटरअघिको जमिनमा धसिँदै सेतीखोँचमा खस्यो । “जहाज खसेपछि आगो लाग्यो, धुँवाको कालो मुस्लो निस्कियो, कता जाने, के गर्ने होसहवास गुमेजस्तो भयो”, उहाँले सुनाउनुभयो, “काखकी छोरी लिएर बुबासँगै घरछेउको आलुबारीतिर भागेँ ।” जीवनमा पहिलो पटक यति ठूलो घटना देख्नुभएकी गिरीले अहिले कुनै सिनेमाको दृश्यझैँ लाग्ने गरेको सुनाउनुभयो ।रासस