गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको ११ दिन बितिसक्दा मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिनुभएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन । मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ कुनै टुङ्गो छैन । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले केही दिनभित्रैमा सरकारले पूर्णता पाउने बताउनुभयो । “मन्त्रालयको सङ्ख्या घटाएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ, मुख्यमन्त्रीज्यूले सुरुदेखि नै यसैमा जोड दिइरहनुभएको छ”, उहाँले भन्नुभयो । सत्तारुढ दलबीच मन्त्रालय घटाउने र मन्त्रीको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल भइरहेको प्रवक्ता सुन्दासले उल्लेख गर्नुभयो । दुई–तीन दिनभित्रैमा यो विषय टुङ्गोमा पुग्ने उहाँको भनाइ छ । हाल रहेका १२ मन्त्रालयलाई घटाएर सातमा पु¥याउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तयारी छ । यसअघि प्रदेशसभाका उपसभामुखको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि त्यसो हुन सकेन । उपसभामुख निर्वाचित भएको पनि चार दिन बितिसकेको छ । मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरू कामविहीन स्थितिमा हुनुहुन्छ । विभागीय मन्त्री नहुँदा मन्त्रालयका कामकारबाही पनि प्रभावित हुने देखिएको छ ।रासस