प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला हुनुहुन्छ । उहाँको जन्म २०१६ सालमा दाङमा भएको थियो । उहाँ समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित हुनुभएको हो । न्यौपाने नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रुपमा रहनुभएको छ । उहाँ २०६४ र २०७० सालको संविधानसभा सदस्य हुनुहुन्थ्यो । तत्कालीन व्यवस्थापिका–संसद्मा उहाँ पार्टीको सचेतक हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गुर्नभएका उहाँ नेपाल महिला सङ्घको केन्द्रीय उपाध्यक्ष भइसक्नुभएको छ । आज अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यतालिका तोकिएको थियो । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचनाको दर्ताअनुसारको सूची आजै प्रकाशित गरिने छ ।रासस