४ माघ, डाेल्पा ।

निसीखोला मोटरबाटोले जोडिएको धेरै भएको छैन । एक दशक अगाडि मध्यपहाडी लोकमार्गले जोडिएपछि थुप्रै शाखा सडक निर्माण भए । आव २०६६/०६७ मा लोकमार्ग निसीखोला हुँदै रुकुम जोडिएको थियो ।

लोकमार्ग देवीस्थान–झिवाखोला हुँदै निसी जोडिएपछि बायखोला–झिम्पा क्षेत्रका स्थानीयवासी ओझेलमा परेका थिए । विसं २०७५ मा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रूपमा बायखोला–झिम्पा सडक निर्माण भयो । पाँच वर्षअगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त छ । निसीखोला गाउँपालिकाले यस सडकलाई अघिल्लो आर्थिक वर्षदेखि स्तरोन्नति गर्न थालेको छ । गाउँपालिकाले वडा नम्बर २ को बायखोलादेखि वडा नम्बर ५ को निसी ढाँडसम्मको १५ किलोमिटर सडक स्तरोन्नति गर्न थालेको हो । यो सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको स्थानीयवासी बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका–२ देखि निसीखोला गाउँपालिका–५ सम्म जोडेको छ ।

सडक स्तरोन्नतिका लागि गाउँपालिकाले रु एक करोड ३० लाख र केन्द्र सरकारले रु एक करोड ३० लाख गरी रु दुई करोड ६० लाख विनियोजन भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु ८५ लाखले काम थालनी गरेको र यस वर्ष बढी सडक स्तरोन्नति हुने गौतमको भनाइ छ ।

“यो सडक लोकमार्गको वैकल्पिक र गाउँपालिकाको गौरवको आयोजना हो, १५ किलोमिटर सडक छ, यसको स्तरोन्नति गर्न बढी नै बजेट आवश्यक पर्छ, थोरै–थोरै बजेट विनियोजन हुँदा एकै पटक काम सक्न सकिएको छैन”, सूचना अधिकारी गौतमले भन्नुभयो, “यस वर्ष पनि रु दुई करोड ५० लाख बजेट विनियोजन भएको छ, यो बजेटले अघिल्लो वर्षको तुलनामा धेरै काम हुनेछ ।”

सडक स्तरोन्नति गर्नका लागि बोलपत्र आह्वान भएको र ठेक्का सम्झौताको प्रक्रिया सुरु भएको उहाँको भनाइ छ । यो वर्ष सडकलाई चौडा गर्ने, नाली निर्माणलगायतका काम हुने गौतमले बताउनुभयो । आगामी माघ दोस्रो सातादेखि स्तरोन्नतिको काम सुरु हुने उहाँको भनाइ छ । अघिल्लो पटक गाउँपालिको १५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्र गर्नका लागि रु १५ करोड बढी बजेट आवश्यक पर्ने अनुमान गरेको थियो ।

वडा नम्बर ४ का अध्यक्ष टीकानिधि पौडेलले यो सडक गाउँपालिकावासीको ‘लाइफ लाइन’ भएको भन्दै हरेक वर्ष बजेट विनियोजन गरी स्तरोन्नतिको काम गरिरहेको बताउनुभयो । बर्खाको समय लोकमार्ग अवरुद्ध हुने हुँदा यो सडक उपयुक्त हुने उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “यो सडक निसीखोलावासीको भविष्यसँग जोडिएको छ, मध्यपहाडी लोकमार्गसँगै सडकले सयौँ नागरिकको जीवन बदलिएको छ, यसको स्तरोन्नतिका लागि गाउँपालिकाले पनि हरेक वर्ष बजेट छुट्याउँदै आएको छ, केन्द्र सरकार र प्रदेश सरकारले पनि बजेट छुट्याउन जरुरी छ, यो सडक मेरो वडामा बढी पर्ने भएको हुँदा हामीहरू स्तरोन्नतिका लागि जुटेका छौँ ।”

निसीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले सडकको २०६३ सालमा ट्र्याक खोल्न सुरु गरे पनि लामो समयसम्म स्थानीयस्तरमा विवाद हुँदा र बजेट अभावका कारण सकडले पूर्णता पाउन नसकेको बताउनुभयो । स्थानीय सरकार गठन भएपछि २०७५ सालमा पालिकाले बजेट छुट्याएर ट्र्याक खोलेको भन्दै अघिल्लो वर्ष स्तरोन्नतिका लागि थोरै बजेट छुट्याएर भए पनि सुरुआत गरिएको बताउनुभयो ।

साविक निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले रु दुई÷दुई लाख, अर्थ मन्त्रालयबाट रु ४० लाख, डोलीडारबाट रु सात लाख र जिल्ला विकास समितिबाट रु आठ लाखमा सडकको ट्र्याक खोलेको पौडेलले स्मरण गर्नुभयो । सडकले निसीखोला गाउँपालिका २, ४ र ५ का हजारौँ नागरिकको दैनिकी फेरिदिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समयको सङ्घर्षपछि अहिले सबै ट्र्याक खोलेका छौँ, स्तरोन्नति गर्न पनि अहिले गाउँपालिकाले तदारुकता देखाएको छ, सडक निर्माणमा विभिन्न पक्षबीच विवाद हुँदा ढोरपाटन नगरपालिकाको पाखुतेदेखि निसीखोला गाउँपालिका–२ बायखोलासम्म र निसीखोला गाउँपालिका–५ को ढाँडदेखि वडा नम्बर ४ को खाडचौरसम्म ट्र्याक खोलिए पनि चार किलोमिटर सडक निर्माण नहुँदा सडक पूर्णरूपमा जोडिएको थिएन, पालिका स्थापनाको पहिलो वर्ष हामीले रु ४५ लाख विनियोजन गरी चार किलोमिटर सडक खनेर दुवैपट्टिको सडक जोडेका थियौँ ।”

यो सडक मध्यपहाडी लोकमार्गभन्दा दुई किलोमिटर छोटो पर्ने स्थानीयवासीले बताएका छन् । स्थानीय कृषक धर्मराज पोखरेलले वैकल्पिक सडकले गाउँ जोडिएपछि आफूहरूले उत्पादन गरेको फलफूल तथा तरकारीले सहजरूपमा बजार पाउन थालेको बताउनुभयो । उहाँले गाउँमा सडकले नजोडिँदा डोकोमा बोकेर बजार पु¥याउने गरेको भन्दै अहिले ग्राहकसमेत बारीमै तरकारी लिन आउने र बजारसम्म सामान पु¥याउनसमेत निकै सजिलो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले गाउँमा सडक नहुुँदा यहाँका कृषक, व्यवसायीलाई निकै कठिन थियो, सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्नुपर्ने बाध्यता थियो, अहिले गाडीमार्फत सहजै सामान ढुवानी गर्न थालेका छन्, त्यति मात्रै होइन, सडकले नजोडिएको अवस्थामा गाउँमा कोही बिरामी प¥यो भने डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता थियो, अहिले त्यो समस्याको अन्त्य भएको छ, स्तरोन्नति भएपछि अझ बढी सहज हुने छ ।” रासस