कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले आयातभन्दा निर्यात बढाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का सन्दर्भमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “हामीले आयातभन्दा निर्यात वृद्धि कसरी गर्ने भन्ने सोच्नु पर्छ, कृषि प्रधान देश भएर पनि कृषिमा हामी किन पछाडि छौँ भनेर गम्भीर ढङ्गले सोच्नु आवश्यक छ ।” मन्त्री शाहले हरेक जीवजन्तु र बाली संरक्षण गर्ने नीति लिएर सबैलाई समान रुपले संरक्षण गर्नुपर्नेमा जोड दिँदै कृषि तथा पशुपन्छी विकासको कामलाई सकारात्मक रूपमा अगाडि बढाइने बताउनुभयो । मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले हरेक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णय गरेर नेपालको कृषि क्षेत्रमा आफ्नो मौलिकता जगाउने काम भएको बताउनुभयो । “नेपालको कृषि क्षेत्रमा ४० प्रतिशतभन्दा बढी जैविक विविधता ह्रास भएर गइसकेको छ, अब पनि हामीले जैविक विविधताको संरक्षण गर्न सकेनौँ भने हाम्रो अगाडि ठूलो चुनौती खडा हुन्छ”, उहाँले भन्नुभयो ।रासस