छ महिनासम्म वस्तुभाउ र मानिसको चहलपल हुने बुकी सुनसान भएको छ । थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो । बुकीकै भरमा गाईवस्तु र भेडाबाख्रा पाल्ने किसानले बुकी छाडेपछि सुनसान बनेको हो । बुकीमा हरियो घाँस पलाउनेदेखि नसकिने बेलासम्म यहाँका किसानले वस्तुभाउ लिएर उतै बस्छन् । जेठ पहिलो सातादेखि बुकी चढेकाहरुले छ महिना यहाँका अस्थायी टहरामा रात कटाउँछन् । घरबाट निस्कने बेला नै छ महिनालाई पुग्ने खर्च लिएर बुकी उक्लेका किसानको खर्च सकिएसँगै चिसो बढेपछि बुकी सुनसान भएको हो । ढोरपाटन घट्टेचौरका पशुपालक कृषक भीमबहादुर विकका अनुसार बुकीका गोठाला, गाईवस्तु र भेडाबाख्रा बँेसी झरेका छन् । “बुकी भएपछि हतपत तल झर्ने कुरा हुँदैन, बन्दोबस्ती सबै गरेर जानुपर्छ”, उहाँले भन्नुभयो, “चिसो बढेपछि गोठ लिएर बेँसी झर्नै पर्छ ।” बर्खायामका छ महिना कुनै आकस्मिक समस्या र बिरामी परे मात्रै साथी गोठालालाई आफ्नो पशु हेर्ने जिम्मेवारी दिएर गाउँ फर्कने विकले बताउनुभयो । छ महिनाको अवधिमा हुने पशुजन्य उत्पादन दूधलाई घीउ तथा मासुलाई सुकुटी बनाउने गरिएको उहाँले बताउनुभयो । यहाँका किसानको आम्दानीको मुख्य स्रोत पशुपालन हो । बुकी क्षेत्रमा जन्मने पाडा÷बाच्छा तथा पाठापाठी गाउँ फर्कने बेलामा हुर्किसकेका हुन्छन् ।रासस