विश्वव्यापी रुपमा फैलिएको कोभिड, मुलुकको अर्थतन्त्रमा आएको उतारचढाव लगायतका कारण व्यवसाय मारमा परेको भोटाहिटीस्थित चाहना भवनका व्यापारी बताउँछन् । बर्सेनि बढ्दो भाडा तथा चर्को ब्याजदरका कारण आफ्नो व्यवसाय मारमा परेको उहाँहरुको गुनासो छ । बीस जना व्यापारीको लगानीमा निर्माण भएको चाहना भवनमा धेरैले कपडा व्यापार गर्दै आएका छन् । गुल्मी स्थायी ठेगाना भई हाल महाराजगञ्ज बस्दै आउनुभएका नागमणि टेड्रसका रुद्र महत २५ वर्ष महाबौद्धमा व्यापार गर्दै आएकामा व्यापारमा विस्थापित भएर एक वर्ष अघिदेखि भोटाहिटीमा सरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बैंकले एक करोड ऋणको साढे दुई करोडको कारोबार देखाउनुपर्ने हुनाले अहिलेको अवस्थामा कारोबार देखाउन असम्भव छ ।” समयमा ऋण बुझाउन नसेकेका कारण १७ प्रतिशत ब्याजमा पनि थप दुई प्रतिशत जरिवाना बुझाउन परेको उहाँले बताउनुभयो । महाबौद्धमा एक हजार दुई सयमा भाडा तिरेर सुरु गरेको व्यवसाय त्यहीँ ठाउँमा २५ वर्षको अन्तरालमा एक लाख १० हजारसम्म पुगेपछि छोड्न बाध्य भएको उहाँको भनाइ छ । आफू विस्थापित भएर भोटाहिटी सरेको महत बताउनुहुन्छ । “व्यापारीलाई जस्तो कष्ट अहिले कसैलाई छैन”, उहाँले भन्नुभयो ।रासस