नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले विगत तीन दिनदेखि नियमितरूपमा सञ्चालन गरिँदै आएको बताउनुभयो । दैनिक तीनपटक सञ्चालन गरिँदै आएको छ । दैनिक एक सय जनाभन्दा बढीले क्रुजमा मनोरञ्जन लिएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ, पोखरालगायतका जिल्लाबाट समेत क्रुज सयरका लागि आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सुरुआती चरणमा उत्साहजनक उपस्थिति छ ।” स्थानीयवासीसहित बाहिरी जिल्लाबाट समेत पर्यटक आएको उहाँ बताउनुहुन्छ । क्रमशः ५०–६० जना भएसँगै क्रुज सञ्चालन गर्ने गरी तयारी गरिएको छ । केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारी र कानुनी समस्याका कारण क्रुज सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । क्रुजको दुई वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो । एक घण्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको उहाँले बताउनुभयो । यसका लागि रु सात सयको टिकट काट्ने गरिएको छ । यसमा एक कप कफी दिइँदै आएको छ ।रासस