विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन् । तर गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको माघी मेलामा फरक दृश्य देखिएको छ । यहाँ ग्रामीण भेगका महिला आफँै आत्मनिर्भर बन्ने अठोटका साथ आफैँले बनाएका सामग्री लिएर बेच्नको लागि टाढाटाढाबाट आउनुभएको हो । रुकुम पूर्वबाट आफ्नो सीपले बनाएका सामग्री बिक्री गर्न ३५ जनाको समूह रिडीमा आएको छ । जसमध्ये ३१ महिला रहेको सुन्पुरा बुढाले बताउनुभयो । उहाँहरुले विशेष भेडाको ऊनबाट बनेका राडीपाखी, काम्ला र गलैँचालगायत सामग्री लिएर बेच्न आउनुभएको छ । बुढा उमेरले ५६ वर्ष पुग्नुभयो । यसरी वर्षभर घरमा फुर्सदको समयमा ऊनबाट सामग्री निर्माण गर्ने र मेलामौकामा बेच्न थालेको ३० वर्षअघि देखि हो । घरमा श्रीमान्ले भेडा पाल्ने र आफूहरु सामग्री बेच्नको लागि टाढाटाढा पुगेर जीविकोपार्जन गर्ने गरेको पुथा उत्तरगङ्गा गाउँपालिका रुकुमपूर्वकी सुन्पुराले बताउनुभयो ।रासस