राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा उहाँहरुबीच भेट भएको हो । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना कालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताउनुभयो । “दुई मुलुकले हाम्रो लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्व दिएका छन्”,उहाँले भन्नुभयो, “नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ । हामी हाम्रो भू–भागमा चीनका गहन चासोका विषय तथा मामिलाका विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन कटिबद्ध छौँ ।” अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले चीन र नेपालबीच भएका उच्चस्तरीय भ्रमण र अन्य अवसरमा भएका ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई), पारवहनलगायत सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो।रासस