सिन्धुलिको धुदौलि नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेर भए पनि व्यवहार धान्नुपरेको उहाँले बताउनुभयो । मान्द्रोको ठाउँमा पछिल्लो समय प्लास्टिकका सामग्रीले लिएको छ । प्लास्टिकका सामग्री सस्तो र सहजरुपमा पाउन थालेपछि मान्द्रो बनाउने पेसा सङ्कटमा परेको छ । जङ्गलमा पहिला जस्तै बाँस पाइदैन । मुस्किलले ल्याएर बनाइएको मान्द्रो नबिक्ने समस्या रहेको दनुवारले सुनाउनुभयो । उहाँले भन्नुभयो, “पटिया बिक्री हेतो त फेरी बुन थाल्बो (मान्द्रो बिक्री हुन्छ भने फेरि बनाउन थाल्छु) ।” केही वर्षअघिसम्म चुरे क्षेत्र प्रवेश गर्ने वित्तिकै बाँस पाइथ्यो । बिहानको खाना खाएर निस्कियो भने खाजा खाने बेलामा बाँसको भारी ल्याएर आइन्थ्यो । उत्पादित मान्द्रो किन्न ग्राहक घरमै आउँथे । बिक्रीको समस्या थिएन । त्यति बेला दिनकै रु पाँच सय कमाइ हुन्थ्यो । त्यो पैसाले नुन, तेलदेखि घरायसी सबै खर्च टर्थो । यता उता गर्न ऋणै लिनुपर्ने बाध्यता भएको दनुवारको भनाइ छ । “त्यो बेला मान्द्रो बेचेको पैसाले खर्च टर्थो, ऋण थिएन । अहिले जे गर्नुपर्दा पनि ऋणै गर्नुपर्छ, ऋण बढेको बढ्यै छ”, उहाँले भन्नुभयो ।रासस