आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको स्रोत नहुनु, विद्यार्थी सङ्ख्या न्यून हुनु, शिक्षक तथा कर्मचारीको सेवा शुल्क बढ्दै जानुजस्ता कारणले क्याम्पस धरासायी बन्दै गएका हुन् । फलेबास नगरपालिका–६ देवीस्थानस्थित जिल्लाकै पुरानो पर्वत बहुमुखी क्याम्पस यतिबेला करिब रु डेढ करोड ऋणको भारी बोकेर जीर्ण संरचनासहित सञ्चालनमा छ । विसं २०४१ मा स्थापना भएको उक्त क्याम्पस सञ्चालन गर्न स्थानीय अगुवाले जति सङ्घर्ष गरे त्यसपछिका दिनमा समेत उक्त क्याम्पसको आर्थिक तथा पूर्वाधारको अवस्थामा सुधार हुन नसक्दा समस्या भएको हो । सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको अवस्था पनि उस्तै छ । विसं २०४८ मा स्थापना भएको सो क्याम्पसलाई अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले आङ्गिक क्याम्पसको अनुमति दिएको छैन । विश्वविद्यालय अनुदान कार्यक्रममार्फत बर्सेनि रु १३ लाख हाराहारी आउने रकमले दुई प्राध्यापकलाई पारिश्रमिक दिन मुस्किल भएको छ । पूर्णकालीन र आंशिक गरी २७ प्राध्यापक, कर्मचारी पाल्न धौधौ भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले बताउनुभयो ।रासस