नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गर्नुभएको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गर्नुभयो । उहाँले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताउनुभयो । देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उहाँको भनाइ छ । पदभारपछि सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ तथा सहयोग जरुरी रहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य शर्माले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै विजयी हुनुभएको थियो । विसं २०७० र २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित हुनुभएकी उहाँ २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो ।रासस