सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा नेकपा (एमाले) की जानकी ऐर बमले सभामुखमा भण्डारीलाई निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावको पक्षमा २९ र विपक्षमा २३ मत परेको थियो । भण्डारीको समर्थकमा माओवादी केन्द्रकी गीतदेवी माल हुनुहुन्थ्यो । भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका प्रदेशसभा सदस्यले मत जाहेर गर्नुभएको थियो । यसअघि प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुखमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले राख्नुभएको अर्को प्रस्तावको पक्षमा २० मत र विपक्षमा २८ मत परेको थियो । रावलको समर्थकमा कांग्रेसका पृथ्वीबहादुर सिंह हुनुहुन्थ्यो । उक्त प्रस्तावमाथि भएको मत विभाजनमा कांग्रेसका दिवानसिंह विष्ट, ललिता सुनार, गीतादेवी चौधरी र माओवादी केन्द्रकी लक्ष्मी विक अनुपस्थित हुनुहुन्थ्यो । कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेशसभा सदस्यले रावलको पक्षमा मत जाहेर गर्नुभएको थियो । सभामुखको भूमिकामा रहनुभएका शिवराज भट्टले भण्डारीको प्रस्तावको पक्षमा २९ मत परेको र उक्त मतसङ्ख्या बहुमत रहेकाले सभामुखमा उहाँ निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो । सभामुखमा निर्वाचित भण्डारीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो ।रासस
