नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई निगम जस्तो बनाउने बताउनुभएको हो । यस्तै, उहाँले हवाई सुरक्षामा विशेष ध्यान दिने बताउनुभयो । उहाँले हवाई उडानलाइ व्यवस्थित बनाउँदै यसलाई सुरक्षित बनाउनका लागि काम गर्ने उल्लेख गर्नुभयो । मन्त्री किरातीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने स्पष्ट पार्नुभयो । आफूले कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँको भनाइ थियो । कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागिपर्ने उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागिपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,“म जहाजको ककपिटमा छु । एकैचोटी जहाज उडाउँदैनौँ । सबै जाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ । जातीय, क्षेत्रीय एवम् नातागोताले अब काम गर्दैन ।” यही माघ १ गते मात्रै ठूलो हवाई दुर्घटना भएको र सम्बन्धित मन्त्रालय भएकोले छानबिन समितिलाई सहयोग गर्ने काम हुने उहाँको भनाइ छ ।रासस