विसं २०७८ असार १ मा मर्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ बगर बन्यो । करिब डेढ वर्षपछि यही बगरमा तालगाउँमा अहिले बस्ती बस्दैछ । सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोग तथा समन्वयमा नदीको जोखिम न्यूनीकरण भएपछि यस क्षेत्रमा बस्ती बस्न थालेको छ । जोखिम रहेको नदी किनारमा तटबन्धन गरिएपछि तालगाउँका स्थानीयले बस्ती बसाल्न थालेको नासों गाउँपालिका–१ का वडा अध्यक्ष मीनरासी गुरुङले बताउनुभयो । तालगाउँवासीलाई स्थानान्तरण गर्न सरकारले पहल गरे पनि स्थानीय अन्यत्र जान नमान्दा यसै क्षेत्रमा बस्ती बसाल्ने वातावरण बनाएको उहाँले बताउनुभयो । “केही स्थानीय विस्थापित भए पनि अधिकांश स्थानीय यही बस्न चाहे, उनीहरुको चाहना विपरीत सरकारले पनि स्थानान्तरण गर्न चाहेन, सोहीअनुरुप सरकारले तालगाउँलाई सुरक्षित बनाउन तटबन्धन ग¥यो”, वडा अध्यक्ष गुरुङले भन्नुभयो, “अहिले बस्ती बसाल्दै छन् स्थानीयवासी ।” “बालुवामा चाहे जस्तो तटबन्धन गर्न नसकिने इन्जिनियरको सल्लाह आएको थियो, स्थानीयहरु अन्यत्र जान चाहेनन्, अवस्थामा अहिले गरिएको तटबन्धले गाउँबस्ती बस्न थालेको हो”, उहाँले भन्नुभयो । नदी किनारमा तटबन्धन बनेपछि सुरक्षित महसुस गरेको उहाँले बताउनुभयो । बाढीपछि पूर्ण र आंशिक क्षति भनेर वर्गीकरण गरेको थियो । पूर्ण क्षति भएका परिवारलाई आवास निर्माणका लागि सरकारले सहयोग गरेको थियो । आंशिक क्षति भएका परिवारलाई सरकारले सहयोग गरिदिए हुने भन्ने अपेक्षा स्थानीयवासीको छ ।रासस