नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले विमान दुर्घटनामा महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका पोखरेली पत्रकार त्रिभुवन पौडेलको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखामा आज स्व पौडेलको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिने कार्यक्रममा उहाँले पौडेलको निधनबाट समाज, पत्रकारिता क्षेत्र र पत्रकारले एक नक्षत्र गुमाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाउनुभएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । दुःखद् घटनामा एक अनुभवी, जुझारु र ऊर्जाशील युवा पत्रकारलाई अल्पायुमै गुमाउन पुग्यौँ, महासङ्घले उदीयमान पत्रकार नेता गुमाएको छ ।” अध्यक्ष पोखरेलले विमान दुर्घटनाका यस्ता घटना भविष्यमा हुन नदिन राज्य र राज्यका संरचनाले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । स्व पौडेलको निधनमा महासङ्घले १३ दिनसम्म शोकसभाबाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले पौडेलको निधनले सबै सञ्चारकर्मीलाई शोकाकुल बनाएको बताउनुभयो । पौडेलकै अग्रसरतामा शाखाको सुविधासम्पन्न भवन निर्माणलगायतका काम सम्पन्न भएको उहाँले स्मरण गर्नुभयो । यही माघ १ गते काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी पोखराका पत्रकार पौडेल र अनिल शाहीसहित ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकामध्ये हालसम्म एक जनाबाहेक अन्यको शव फेला परेको हो ।रासस