बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सो मन्दिर पुग्न आठ किलोमिटर पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ । नेपालगञ्जबाट २२ किलोमिटर टाढा पर्ने नरैनापुर गाउँपालिकाको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर उकालो पहाड हिँडेपछि उक्त ठाउँमा पुगिने नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट भक्तजनको भीड लाग्छ । अप्ठेरो बाटो भए पनि भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । सहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकोेले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन र पैदलयात्राको लागि नेपालगञ्जबाट समूह बनाएर भक्तजन पुग्ने गरेका छन् । नरैनापुरको वडा नं ५ र ६ को बीचमा पर्ने बेदिहवा, झण्डवा हुँदै सन्तानेश्वर नामकरण भएको मन्दिर अहिले चर्चामा छ । अन्य दिनभन्दा शनिबार धेरै भीडभाड हुने गरेको छ । मन्दिर दर्शन गर्न पुग्नुभएका कोहलपुरका बलराम भट्टराईले जीवनमै अहिलेसम्मको रमाईलो र स्मरणीय भ्रमण भएको बताउनुभयो । मनोरम दृश्य र साथीसँगको समूहमा सजिलै सन्तानेश्वर मन्दिर पुगिएको उहाँको भनाइ छ । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धनको काम गरिने बताउनुभयो । राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक सर्किटको रुपमा विकास गर्ने योजना अघि सारेको उहाँको भनाइ छ । ढकालले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने प्रतिबद्धता जनाउनु भयो ।रासस