सङ्घ, प्रदेश र स्थानीय तहमा जनसङ्ख्याअनुरूपको प्रतिनिधित्व गराउन तामाङ समुदायका अगुवाले माग गरेका छन् । तामाङ समुदायको २८५९ औँ सोनाम ल्होछारका अवसरमा सैलुङ अनलाइनले आज बौद्धमा आयोजना गरेको कार्यक्रममा विसं २०७४ को निर्वाचनमा भन्दा २०७९ सालको निर्वाचनमा बढी प्रतिनिधित्व भए पनि सन्तोष गर्न सकिने अवस्था नरहेको भन्दै जनसङ्ख्याअनुरूपको प्रतिनिधित्व माग गरिएको हो । विसं २०७४ मा छ जना प्रतिनिधिसभामा निर्वाचित भएकामा यसपटक आठ जना निर्वाचित भएको जानकारी दिइयो । कार्यक्रममा सांसद हितबहादुर तामाङले निर्वाचन कानून सुधार गरी पूर्ण समानुपातिक प्रणालीमा जाने व्यवस्थासहित जनसङ्ख्याअनुसार जातजातिलाई संसद्मा प्रतिनिधित्व गराइनुपर्ने बताउनुभयो । विसं २०७४ को स्थानीय निर्वाचनमा भन्दा २०७९ को स्थानीय तह निर्वाचनमा तामाङ समुदायको प्रतिनिधित्व बढेको उहाँले जानकारी दिनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलमान पाख्रिनले मकवानपुर जिल्लामा सबैभन्दा बढी तामाङ समुदायको बसोबास भए पनि गठबन्धनका कारण टिकट भने तामाङ समुदायले पाउन नसकेको बताउनुभयो । पूर्ण समानुपातिक प्रणालीमा नगएसम्म जनजातिको प्रतिनिधित्व सहीरूपमा हुन नसक्ने उहाँको भनाइ थियो । कार्यक्रममा ‘आदिवासी तामाङ निर्वाचन नतिजाले देखाएको उपस्थिति र चुनौती’ विषयक प्रस्तुति गर्नुहुँदै मानवशास्त्री डा मुक्तसिंह लामाले सामाजिक न्यासहितको लोकतन्त्र अझै स्थापना हुन नसकेको बताउनुभयो । कार्यक्रममा भाषा आयोगका सदस्य अमृत योञ्जन, बाह्रबिसे नगरपालिकाका पूर्वउपप्रमुख कमला पाख्रिन, राजनीतिक विश्लेषक बुद्धछिरिङ लामालगायतले सबै जातजातिलाई जनसङ्ख्याअनुसार प्रतिनिधित्व गराइनुपर्नेमा जोड दिनुभएको थियो ।रासस