झापामा ‘नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रदेश नं १ धनकुटाले भद्रपुरमा आज ‘जिल्लास्तरीय अभिमुखीकरण तथा अभियान सञ्चालन’ गरेको हो । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नाराका साथ सुरु भएको उक्त अभियान जिल्लाका सबै पालिका, वडा र टोलटोलमा पु¥याइने जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा अनिलकुमार यादवले जानकारी दिनुभयो । “रोगमुक्त मुलुक निर्माणमा सरकार लागेको छ”, उहाँले भन्नुभयो, “अभियान सफल बनाउन सरकारसँगै हरेक नागरिकको दायित्व उत्तिकै हुन्छ ।” सरकारले स्वास्थ्य क्षेत्रमा बर्सेनि उल्लेख्य बजेट छुट्याउँदै आएको भन्दै उहाँले रोगमुक्त समाज बनाउन सके उक्त रकम अन्य क्षेत्रमा खर्च हुने उल्लेख गर्नुभयो । आधुनिकताका नाममा मानिसको जीवनशैली र व्यवहार परिवर्तन हुँदा बर्सेनि रोगीको सङ्ख्या बढ्दै गएको प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा टंक बाराकोटीले बताउनुभयो । “नसर्ने रोगको जोखिम र बिरामी बढ्दै गएका छन्”, उहाँले भन्नुभयो, “नसर्ने रोगबाट धेरैको ज्यान जाने गरेको छ, सही जीवनशैली अपनाउन सके मात्र त्यसलाई न्यून गर्न सकिन्छ ।” नागरिकलाई सहीबाटमा ल्याउन झक्झक्याउनका लागि नागरिक आरोग्य कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । गलत व्यवहार र अव्यवस्थित जीवनशैलीकै कारण बर्सेनि मुलुकमा पाँच लाख घरपरिवार गरिबीको रेखामुनि पुग्ने गरेको जिल्ला आयुर्वेद कार्यालय उदपुरका प्रमुख डा सरोज विशालले बताउनुभयो । सरकारको मात्र नभई व्यक्तिको ठूलो रकम स्वास्थ्य क्षेत्रमा खर्च भइरहेकाले नागरिक गरिबीको रेखामुनि पुग्न बाध्य भएको उहाँले बताउनुभयो । “घरघरमा स्वास्थ्य चेतना प्रदान गर्न नागरिक अरोग्य अभियान सुरु भएको छ”, उहाँले भन्नुभयो, “आफ्नो बानी व्यवहारमा सामान्य परिवर्तन गर्न सकिएमात्रै स्वास्थ्य रहन सकिन्छ ।”रासस