अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले भन्नुभयो, “तपाईहरुका माग वा समस्या जे–जति छन्, ती सबैलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ, तर त्यसका लागि एउटै टेबलमा बसेर संवाद हुनु जरुरी छ, सबै मन्त्रालयका प्रतिनिधिसहित तपाईहरुका प्रतिनिधिलाई पनि एकै ठाउँमा राखेर छलफल गर्छौं ।” गैरआवासीय नेपाली नागरिकताको विषय छिट्टै टुङ्गिने उल्लेख गर्दै मन्त्री पौडेलले भन्नुभयो, “नागरिकताको विषय अब छिट्टै टुङ्गिन्छ, त्यसमा चिन्ता मान्नुपर्दैन ।” गैरआवासीय नेपालीले नेपालमा गरिरहेको लगानीप्रति सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री पौडेलले आगामी दिनमा पनि लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार आफैँ रहेको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ अघि बढिसकेको छ, त्यसलाई सरकारले गरेको ग्यारेन्टीको रुपमा लिन सकिन्छ, यसले विदेशमा रहेका नेपालीलाई पनि लगानीका लागि प्रोत्साहन गर्नेमा सरकार विश्वस्त छ ।” अर्थमन्त्री पौडेलले सङ्घले गर्दै आएका लोककल्याणकारी तथा परोपकारी कार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा सो क्रम जारी रहने विश्वास व्यक्त गर्नुभयो ।रासस