पाँच साताको घातक अशान्तिपछि हजारौं प्रदर्शनकारीहरू सोमबार राजधानीतिर लागेपछि पेरुका राष्ट्रपति डिना बोलुआर्टेविरुद्ध नयाँ ¥याली शुरु भएको छ । व्यवस्था कायम गर्न आपतकालीन अवस्था घोषणा गरिएपनि अधिकारीहरूलाई दबाब कायम राख्न देशभरका प्रदर्शनकारीहरू सप्ताहन्तदेखि लिमातर्फ लागेका छन् । पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ । राष्ट्रपति डिना बोलुआर्टेको विरोधमा हप्तौंदेखि जारी प्रदर्शन कम हुने कुनै सङ्केत देखिएको छैन । राष्ट्रपति नयाँ निर्वाचन र बोलुआर्टेको राजीनामाको माग गर्दै भएका प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको पुष्टि पेरूका मानव अधिकार आयुक्तले गर्नुभएको छ । गत डिसेम्बर ७ मा पेड्रो क्यास्टिलोलाई महाभियोगबाट पदच्युत गरी पक्राउ गरेपछि बोलुआर्टेले दक्षिण अमेरिकी यो देशको पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नुभएको थियो । वामपन्थी पूर्व ग्रामीण विद्यालयका शिक्षक तथा युनियनका नेता क्यास्टिलोले आफ्नो १८ महिनाको कार्यकालमा संसदमा चर्को विरोधको सामना गर्नुपरेको थियो भने उहाँविरूद्ध भ्रष्टाचारको आरोपबारे थुप्रै आपराधिक अनुसन्धानहरू शुरू भएका छन् । सरकारले लिमा, कुस्को, कालाओ र पुनो क्षेत्रमा शनिबार मध्यरातदेखि ३० दिनका लागि सङ्कटकालीन अवस्था थप गरेको छ । सङ्कटकालको घोषणाले आवागमन र भेला हुने स्वतन्त्रता जस्ता संवैधानिक अधिकारलाई पनि निलम्बन गरेको राजपत्रमा प्रकाशित आदेशमा उल्लेख छ ।रासस
