चिनियाँ विशाल प्रविधि कम्पनी टेनसेन्टले कम्पनीको नीति उल्लङ्घन गरेको आरोपमा १०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ । हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र चिनियाँहरूको लोकप्रिय सामाजिक सञ्जाल विच्याटको लगानीकर्ता हो । यस कम्पनीले विश्वभर इन्टरनेट, सूचना प्रविधि तथा कम्प्युटर र अन्य प्रविधिका लागि पुर्जा आपूर्ति पनि गर्छ । तर सन् २०२० को अन्त्यमा चीनको प्रविधि क्षेत्रमा नियम तथा कानुन उल्लङ्घन गरेको आरोपमा व्यापक दमनको सामना गरिरहेको छ । गत नोभेम्बरमा लगातार दोस्रो त्रैमासिक रूपमा आम्दानीमा गिरावट आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै १०० भन्दा बढी कर्मचारीलाई आफ्नो जालसाजी विरोधी नीतिको उल्लङ्घन गरेको आरोप लगाएको छ । तीमध्ये १० जनाभन्दा बढीलाई चीनको सार्वजनिक सुरक्षा निकायमा स्थानान्तरण गरिएको छ । “कम्पनीभित्र भ्रष्टाचार र धोखाधडीको समस्याको प्रतिक्रियामा, टेन्सेन्टको जालसाजी अनुसन्धान विभागले आफ्नो कारबाहीलाई सशक्त पार्दै सामान्य समस्यासँगै उल्लङ्घनको श्रृङ्खलाको अनुसन्धान र सामना गरेको छ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । “सन् २०२१ को तुलनामा सन् २०२२ मा अनुसन्धान र कारबाहीमा परेका मुद्दा र कर्मचारीको सङ्ख्यामा वृद्धि भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।रासस