टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी तीव्ररुपमा भइरहेको आयोजकले जनाएको छ । महोत्सवस्थलमा टेन्ट निर्माणदेखि स्टल बुकिङका काम भइरहेको र महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको सङ्घको भनाइ छ । सङ्घका अध्यक्ष चक्रपाणी सापकोटाले भन्नुभयो, “रमाइलो मेलामा झुलादेखि लिएर टेन्टको सबै काम भएको छ यसमा पनि १० प्रतिशत बाँकी छ ।” महोत्सव स्थलभित्र मात्रै ९० स्टल राखिएका छन् । जसमा थारु गाउँ, मगर गाउँ, कृषि मेला, शैक्षिक प्रदर्शनी, स्थानीय उत्पादित सामग्री, महिला उद्यमीका स्टल रहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । उहाँले अघिल्ला महोत्सवभन्दा यसपटकको महोत्सवमा धेरै कुरा परिवर्तन रहेको बताउनुभयो । “बाल उद्यान, शैक्षिक क्रियाकलापका स्टल राखिएका छन्, विद्यार्थीलाई सिकाइ हुने खालका स्टल पनि छन्”, स्टल व्यवस्थापन समितिका संयोजक बमबहादुर ओलीले भन्नुभयो, “टीकापुर बहुप्राविधिक शिक्षालयले कार्यक्रम पनि गर्दैछ ।” महोत्सवमा स्थानीय व्यापारीलाई स्टलमा १० प्रतिशत छुट दिइएको छ । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना ः समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने मूल नाराका साथ माघ ४ देखि १६ सम्म महोत्सव आयोजना हुँदैछ । महोत्सवस्थलमा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका स्टल शुल्क रु दुई हजार पाँच सयदेखि रु २५ हजारसम्म तोकिएको छ ।रासस