भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ । निर्माणधीन सडकमा हुनसक्ने कमी, कमजोरी तथा गुनासा सुन्न र निर्माण कार्य बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली उपल्लो डोल्पा पुगेको हो । जाजरकोटबाट डोल्पाको दुनैसम्म एक सय १८ किलोमिटर सडक भेरी करिडोरभित्र पर्दछ । मोरिम्ला नाकादेखि धो सम्मको ६५ किलोमिटर सडक रहेको छ । मोरिम्ला नाकादेखि धो सम्माको ६५ किलोमिटर सडक निर्माणको ट्र्याक खोल्ने काम भइसकेको छ । दुनै–ल्यासिक्याप सडक २० किलोमिटर लामो छ । डोल्पा सदरमुकाम दुनैबाट–ल्यासीक्याप सडकखण्डको निर्माण कार्यसमेत सडक डिभिजन चौरजहारीमार्फत भइरहेको छ । सडक डिभिजनको टोलीले एक सय ४८ किलोमिटर सडकको अध्ययन यस पटक गरेको प्रमुख कर्णले जानकारी दिनुभयो । दुनै लासीक्याप सडक खण्डमा कामको सम्झौता गरे पनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको हो । विसं २०७८ चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । यस आयोजनाको कूल लागत रु १३ करोड ४१ लाख रहेको कार्यालयले जनाएको छ । दुनै–ल्यासीक्याप सडकखण्ड काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ । अहिले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का भएर यति विल्ड्रसले काम गरिरहेको छ ।रासस