‘सखिए हो, माघकी गुरीगुरी जाँर …., सकिए हो…। मुरिया लहैना गैली, ए है पनघँटिया रे हाँ ….।।’ (आर्थात् सखिया नाच खेल्दै गर्दा माघ महिनामा बनाइने स्वादिलो जाँड, पानीको जलासयमा नुहाउन गइयो) थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै गाइने प्रस्तुत पुरानो गीत अहिले पनि जनजिब्रोमा छाउने गरेको छ । यो पर्वमा धमार र डुम्रु नाच पनि उतिकै लोकप्रिय भए पनि सखिया नाचको गीतले थारु वस्तीमा यतिबेला रौनक छाउन थालेको छ । पश्चिम नेपालको दाङदेखि कञ्चनपुरसम्म बसोबास रहेको थारु बस्तीमा मादलुको तालमा खेलिने सखिया नाचले सबै उमेरका व्यक्तिमा नयाँ उमङ्ग एवं उत्साह जगाउने गरेको छ । सखिया नाचले थारु समुदायको सदियौँ देखिको भेषभूषा, परम्परा र लोकसंस्कृति झल्काउने गरेको थारु अगुवा मानबहादुर चौधरी बताउनुहुन्छ । पुस्तौँदेखि मनाइँदै आएको ठूलो चाड माघी पर्व मनाउन थारु समुदायका घरमा विषेश तयारी भइरहेको छ । कैलालीको कैलारी गाउँपालिका बिसनपुर गाउँका भलमन्सा रहेका चौधरीले भन्नुभयो, ‘‘नयाँ वर्षको रुपमा माघी पर्वलाई उत्सवको रुपमा मनाइन्छ, घरमा पकाइएका खानाका मिठा परिकारको खानपिन र नाचगान गरेर रमाइलो गरिन्छ ।’’ थारु समुदायमा गाउँको मुख्य व्यक्ति भलमन्साले दिने सल्लाह सुझावअनुसार माघी पर्व मनाइने गरिन्छ ।रासस