लामो समयदेखि सफाइ अभियान सञ्चालन गरे पनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन । अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्रेश्वोरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताउनुभयो । उहाँका अनुसार अझै पनि बागमती नदीमा मोटरका पार्टपूर्जा, बियरका क्यान, मोटर साइकलका टायर, घरबाट निस्किने फोहर फाल्ने गरिएको पाइएको छ । सफाइको मुख्य जिम्मेवारी स्थानीय सरकारको भए पनि काठमाडौँ महानगरपालिकालगायत काठमाडौँ उपत्यकाका अन्य नगरपालिकाले काम गर्न सकेका छैनन् । स्थानीय सरकारले फोहर फाल्नेलाई दण्ड जरिवाना नगरेसम्म नदी सफाइ अभियान सफल नहुने उहाँको अनुभव छ । बागमती सफाइ महाअभियानले विसं २०७० जेठ ५ मा सफाइ सुरु गरे पनि तीन वटै तहका सरकारले प्रभावकारी रुपमा काम नगर्दा अभियानकर्मीले दुःख प्रकट गरेका छन् । बागमती सफाइ अभियानको ५०५औँ हप्तामा आज गौरीघाट नजिकै अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, तिलगङ्गा महिला समूह एवं बागमती अभियानकर्मीले सफाइ गरी एक दशमलव पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरेका छन् ।रासस