माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ । मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गर्नुभएको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार एकमहिना अघिदेखि चाकु बनाउन व्यस्त छ । थिमिमा चाकु उत्पादन गर्ने पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे सङ्क्रान्तिका लागि मात्रै नभई वर्ष दिनभरि नै चाकु बनाउनुहुन्छ । यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात रहेको बताउनुहुन्छ व्यवसायी श्रेष्ठ । माघे सङ्क्रान्तिले भीड बढेको र जाडो बढेकाले चाकुको माग धान्न धौ धौ परेको उहाँको भनाइ छ । एक महिनादेखि उहाँको परिवारसहित दैनिक २५ जना चाकु र तीलको कालो तथा सेता लड्डु ९तिलौरी० बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “माघे सङ्क्रान्ति नजिकिएपछि चाकु लिन आउनेको भीड लाग्छ, यहाँ उत्पादन भएको चाकु र पुष्टकारी औषधिको रुपमा प्रयोग गर्न टाढाटाढाबाट लिन आउँछन्, यहाँको चाकुले खोकी निको पार्छ, गर्भवती, सुत्केरीका लागि टाढाटाढाबाट यहीँ चाकु लिन आउँछन्, महिलामा रगत बग्ने समस्या भयो भने चाकु लिन यहीँ आउँछन् ।”रासस