रामपुर नगरपालिकाले नागरिक बडापत्र राखेपछि सेवाग्राहीलाई जानकारी लिन सजिलो परेको छ । नयाँ भवनमा नगरपालिका कार्यालय सरेर सेवा सुचारु भए पनि नागरिक बडापत्र नहुँदा सेवाग्राहीले सो सेवा उपयोग गर्न पाएका थिएनन् । अहिले भने कार्यालयको भित्तामा बडापत्र राखेपछि यसैबाट कार्यालयले दिने सेवा सुविधाबारे जानकारी लिने गरेको सेवाग्राही बताउँछन् । विगतमा ‘रामपुर नगरपालिकामा छैन नागरिक बडापत्र’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । सो समाचारको प्रभावले नगरपालिकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले देख्ने गरी नागरिक बडापत्र राखेको छ । पूरानो भवनबाट नयाँ भवनमा सरेको लामो समय बितिसक्दा पनि नागरिक बडापत्र राख्न नगरपालिकाले तदारुकता नदेखाएपछि राससमा समाचार प्रकाशन भएको थियो । सेवाग्राहीलाई मध्यनजर गर्दै तत्काललाई भित्तामा राखिएको छ भने प्रविधिको युग भएकाले डिजिटल राख्न कार्यालयले तयारी गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने बताउनुहुन्छ । “डिजिटल प्रविधिको राख्ने तयारीमा रहेकाले नयाँ भवनमा बडापत्र राखिएको थिएन”, उहाँले भन्नुभयो, “अहिलेलाई भित्तामा सबैले देख्ने गरी तयार पारेर राखेका छौँ, अब प्रविधिको बडापत्र तयार हुनेछ ।” नगरपालिका कार्यालयमा आफूले पाउने सेवासुविधा उल्लेख हुने भएकाले यो सेवाग्राहीको लागि उपयोगी र जानकारीमूलक सूचना पार्टी रहेको सेवाग्राही शर्मिला पौडेल बताउनुहुन्छ । “एक पटक बडापत्र सरसर्ती पढेपछि के के सेवा पाइने रहेछ सबै कुराको जानकारी हुन्छ, कहाँ कसरी सेवा लिन कोसँग सोध्ने भनेर अलमलमा पर्नुपरेन, यो हामी सेवाग्राहीलाई उपयोगी र जानकारी लिन सहज भएको छ ।” सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक बडापत्र हो । पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्न नागरिक बडापत्र महत्वपूर्ण औजार मानिन्छ ।रासस