विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउन लागिएको आज शहरी विकास तथा भवन निर्माण विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायतका क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले उक्त नारा तय गरिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो । दिवसका अवसरमा मूल समारोह समितिले माघ २ गते कमलपोखरीमा कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौँ महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियता रहने छ । पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले २९३ वटै नगरपालिकामा आर्थिक मानवीय स्रोतका अभावमा भवनसंहिता लागू गर्न नसकिएको बताउनुभयो । यसका लागि सरकारबाट छुट्टै अनुदान आउन नसक्दा समस्या भएको उहाँको भनाइ थियो । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले यस अवसरमा दुई वर्षदेखि कोरोना महामारीका कारण रोकिएको जनचेतनामूलक प्रदर्शनीलाई पनि यसै पटकदेखि निरन्तरता दिन लागिएको बताउनुभयो ।रासस
