माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत तीर्थालु आउने भएकाले सोहीअनुसारको व्यवस्था गरिएको हो । “देवघाटधाम हिन्दूको पवित्र तीर्थस्थलका रूपमा रहेकाले यहाँ माघ स्नानका लागि स्वदेशी तथा विदेशी भक्तजन आउने गर्छन्”, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले भन्नुभयो, “यहाँ तीर्थयात्रीको व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिएको छ ।” बिहीबार देवघाटको गलेश्वर आश्रममा पत्रकार सम्मेलन गर्दै अध्यक्ष अधिकारीले तीर्थयात्रीका लागि आवश्यक पर्ने खानेपानी, बिजुली बत्ती, सडक, स्नानघाट, धुनी, सवारीसाधन पार्किङ, शौचालयलगायतका सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । देवघाटधामको वेणी सङ्गमस्थलमा पुस ३० गते बिहान विधिपूर्वक बाँसको लिङ्गो गाडेपछि माघ स्नान शुभारम्भ हुने अधिकारीले बताउनुभयो । “वेणीमा बाँसको लिङ्गो गाडेपछि माघ स्नान आरम्भ हुन्छ, सोही दिनदेखि नै टाढा–टाढाबाट आउने तीर्थालुको देवघाटमा आगमन सुरु हुन्छ”, अधिकारीले भन्नुभयो । देवघाट मेलालाई व्यवस्थित गर्नका लागि नवलपुर, चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसँग छलफल गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको अधिकारीले बताउनुभयो। रासस