बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगतरुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा हुनुहुन्छ । यसैगरी, नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा हुनुहुन्छ । यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट गीता काफ्लेले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू हुनुहुन्छ । प्रदेशसभाको उपसभामुखको निर्वाचन आगामी माघ २ गते अपराह्न ३ बजेको समय निर्धारण गरिएको निर्वाचन अधिकृत तथा प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । प्रदेशसभामा हाल विभिन्न सात राजनीतिक दलका गरी ११० जना प्रदेशसभाका सदस्य हुनुहुन्छ ।रासस