धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झै उनीहरु सरस्वतीको प्रतिमा बनाउन ब्यस्त छन् । जिल्लाका विभिन्न ठाउँमा मङ्सिरदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाका ५३ वर्षीय चन्द्रदेव पण्डितले आगामी माघ १० गतेसम्म २२ प्रतिमा बनाइसक्ने गरी आफूले मङ्सिर २० देखि नै काम सुरु गरेको बताउनुभयो । “गत वर्ष ३५ मूर्ति बनाएको थिएँ”, उहाँले भन्नुभयो, “माघ १० गतेसम्म सबै मूर्ति बेचिसक्नुपर्नेछ ।” उनन्तीस वर्षदेखि मूर्ति बनाउँदै आउनुभएका पण्डितले यो वर्ष मूर्ति बेचेर करिब रु ५० हजार कमाउने लक्ष्य राख्नुभएको छ । जनकपुरधाम–१५ का ३६ वर्षीय पञ्चा पण्डितले पनि माघ १० नकट्दै १५ प्रतिमा बनाइसक्ने गरी काम भइरहेको बताउनुभयो । त्यसैगरी जनकपुरधाम–१९ का २३ वर्षीय राजाराम मण्डललाई पनि यतिबेला मूर्ति बनाउने चटारो छ । उहाँले यो वर्षको सरस्वती पूजामा २० प्रतिमा बेचेर रु ५० हजारसम्म कमाउने लक्ष्य राख्नुभएको छ । चन्द्रदेव, पञ्चा र राजारामले जस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम, सबैला र तीनकौरियाका विभिन्न ठाउँमा मूर्तिकार सरस्वतीका कलात्मक प्रतिमा बनाउन जुटिरहनुभएको छ । सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र अर्थोपार्जन गर्ने उद्देश्यले आफूहरू माटोबाट सरस्वती माताका कलात्मक प्रतिमा बनाउन थालेको राजाराम मण्डलले बताउनुभयो । उहाँले छ वर्षदेखि हरेक सरस्वती पूजाको समयमा यस्तै काम गर्ने गरेको बताउनुभयो । “यसरी माटोबाट बनेका सरस्वतीका कलात्मक मूर्ति बेचेर केही पैसा कमाउँछौँ”, मण्डलले भन्नुभयो, “केही समयका लागि भए पनि मूर्ति बेचेर विद्यालय जाने सन्तान र परिवारको गर्जो टार्नुपर्छ ।”रासस