नेपाली चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ र चलचित्र पत्रकार सङ्घ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि दौडधुप सुरू भएको छ । आगामी फागुन ११ गते साधारणसभासँगै चुनावी सभा तोकेको नेपाल चलचित्र प्राविधिक सङ्घमा नयाँ नेतृत्व कसले लिने भन्ने छलफलले तीव्रता पाएको छ । “प्राविधिकको समस्यालाई बुझ्ने नेतृत्व सङ्घमा आउँछ । हाम्रो संख्या बढेसँगै यसलाई व्यवस्थित र मर्यादित गर्न लागिपरेका छौँ”, प्राविधिक शङ्कर पाण्डे भन्नुहुन्छ, “संस्थालाई बलियो बनाउन सम्पूर्ण प्राविधिक एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन ।” यस्तै नेपाल चलचित्र निर्देशक समाज फागुनको अन्तिम साता साधारणसभा र नयाँ नेतृत्व चयन गर्ने तयारीमा छ । “हामी छिट्टै मिति घोषणा गर्दैछौँ”, समाजका महासचिव जनकदीप पराजुलीले भन्नुभयो, “हामीले केही योजना बनाएका छौँ । सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुनेछ ।” नेपाल चलचित्र कलाकार सङ्घले आगामी चैत ४ गते नयाँ कार्यसमिति चयन गर्दैछ । सङ्घका प्रवक्ता मोहन निरौलाले सदस्यता नवीकरणसँगै अन्य तयारी भइरहेको जानकारी दिनुभयो । “नयाँसँगै पुरानो कलाकारको समस्यालाई पहिचान गरी जोड्न सक्ने नेतृत्व आउन आवश्यक छ”, उहाँले भन्नुभयो ।रासस