सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेका अग्निपीडितलाई झण्डै पाँच लाख नगद प्राप्त भएको छ । सोलु दुधकुण्ड नगरपालिकाका नगरप्रमुख एवं नेपाली कांग्रेस सोलुका सभापति नाम्गेल जाङबु शेर्पाको पहलमा नगरपालिकासहित विभिन्न व्यक्तिबाट सङ्कलित चार लाख ८९ हजार एक सय ५० रकम आज अग्निपीडित सहयोग समितिलाई हस्तान्तरण गरिएको हो । सङ्कलित सहयोग रकममा एनआरएन न्यूयोर्क अमेरिका च्याप्टरका अध्यक्ष आङ छिरिङ शेर्पाले सङ्कलन गरी पठाएका दुई लाख ८९ हजार एक सय ५०, सोलु दुधकुण्ड नगरपालिकाको एक लाख ५० हजार र नगरप्रमुख शेर्पाको व्यक्तिगत ५० हजार रहेको वडाध्यक्ष एवं अग्निपीडित सहयोग सङ्कलन समितिकाअध्यक्ष घनराज सुनुवारले बताउनुभयो । पुस ५ गते आगलागी हुँदा थुलुङ दुधकोशी गाउँपालिका–१ नेले बजारको कल्पना बस्नेत, रमेश बस्नेत, वुद्विबहादुर कार्की र गणेश बस्नेतको घर पूर्ण रुपमा र प्रनय राईको घरमा आंशिक क्षति हँुदा चार करोड ७२ लाख बराबरको क्षति भएको थियो । नगरप्रमुख शेर्पासहितको टोलीले घटनास्थलमै पुगेर हस्तान्तरण गरेको रकम अग्निपीडित सहयोग समितिको संयुक्त खातामा जम्मा गरिएको छ । नेलेका अग्निपीडितको राहतका लागि आफू सुरुदेखि नै लागिपरेको र अझै आर्थिक सहयोग सङ्कलनका लागि सक्दो पहल गर्ने नगरप्रमुख शेर्पाले प्रतिबद्धता व्यक्त गर्नुभयो।रासस