मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणको अभियानमा लाग्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा बुधबार आयोजित ‘मानव बेचबिखन तथा ओसारपासर नियन्त्रणसम्बन्धी अभियान कार्यक्रम’ मन्त्रालयले साङ्गठनिक अपराधका विरुद्ध एक भएर अगाडि बढ्न अपिल गरिएको हो । मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी आफ्नो प्रस्तुति राख्दै सबै क्षेत्र, तहको साझा प्रयासबिना यो समस्या नियन्त्रण हुन नसक्ने बताउनुभयो । “पछिल्लो तथ्याङ्कलाई हेर्दा नेपालमा ४० हजार तीन सय व्यक्ति बेचबिखन तथा ओसारपसार भएको देखिन्छ”, उहाँले भन्नुभयो, “तर यस्ता क्रियाकलापविरुद्ध मात्र एक सय ३४ उजुरी परेका छन् ।” ओसारपसारका विरुद्धमा उजुरी नगण्य मात्रामा पर्नु निकै दुखद् कुरो भएको बताउँदै सहसचिव बस्नेतले यसमा सचेतना र अभियान दुवै आवश्यक भएको जनाउनुभयो । गरिबी, अशिक्षा र वैदेशिक रोजगारीका कारण बढी महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसारमा परेको प्रतिक्रिया दिनुभएको उहाँले मुलतः आन्तरिक र बाह्य दुवै ओसारपसार भएकाले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणको अभियानमा लाग्न समग्र क्षेत्रलाई अनुरोध गर्नुभयो । कार्यक्रममा उहाँले नीतिगत, संरचनागत समस्या भए पनि मानव बेचबिखन तथा ओसारपासर ऐन, २०६४ बनेको जनाउनुभयो ।रासस