प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सङ्घीय र प्रदेश सरकारको मन्त्रालय भागबण्डा, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । अहिले सातवटै प्रदेश सरकार बनिसकेको छ । अब सङ्घीय मन्त्रिपरिषद्लाई पूर्णता दिने र सँगसँगै प्रदेश सरकारलाई पनि पूर्णता दिन बाँकी छ । बुधबार मात्रै प्रधानमन्त्री दाहाल गोरखाबाट फर्किएपछि अध्यक्ष ओलीसँग भेट गरी मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट मङ्गलबार दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधिसभामा भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भएको छ ।रासस