झापाका कृषि लक्षित करोडौँको कार्यक्रम सञ्चालनमा रहेका छन् । जिल्ला चालु आर्थिक वर्ष २०७९/८० मा रू १३ करोड २३ लाख ७५ हजार बराबरको विभिन्न ३० शीर्षकमा कृषि लक्षित कार्यक्रम सञ्चालन रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । तीमध्ये २७ कार्यक्रम प्रदेश नं १ सरकार अन्तर्गत र तीन सङ्घीय सरकार अन्तर्गतका रहेका छन् । कृषि क्षेत्रको प्रवर्द्धनका लागि अनुदान, प्रदर्शनी, तालिम, भण्डारण केन्द्र निर्माण, नमूना कृषि फर्म स्थापना लगायतका कार्यक्रम रहेको प्रमुख विष्टले जानकारी दिनुभयो । “११ कार्यक्रममा अनुदानका लागि लाभग्राही किसान, फर्म छनोट भइसकेका छन्”, उहाँले भन्नुभयो, “माघदेखि पुनः सूचना निकालेर कार्यक्रम अघि बढाउँछौँ ।” ठूला कार्यक्रमको छनोटकार्य सकिएको र चाँडै अनुदान वितरण गरिने उहाँले बताउनुभयो । जिल्लामा प्रदेश सरकार अन्तर्गत अलैँची प्रशोधनयन्त्र उपकरण खरिद अनुदानमा रू पाँच करोड, पुष्प खेतीका लागि नर्सरी स्थापनाका लागि रू चार लाख, मसिना तथा बास्नादार धान खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत रू १५ लाख, युवा लक्षित च्याउ मह तरकारी उत्पादन कार्यक्रमका लागि रू ३० लाख, प्याज उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि रू १० लाख, मागमा आधारित कार्यक्रमका लागि रू १५ लाख बजेट रहेको छ ।रासस