मनोहरा नदीको तटीय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन् । वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले मङ्गलबार गरेको चरा गणनामा उक्त क्षेत्रमा आगन्तुक र स्थानीय गरी ८४ प्रजातिका चरा भेटिएका हुन् । मिड विन्टर वाटरवर्ड काउन्ट २०२३ अन्तर्गत गरिएको चरा गणनामा विगत वर्षको तुलनामा कम सङ्ख्यामा चरा भेटिएको फोटोग्राफर श्रेष्ठले बताउनुभयो । बढ्दो सहरीकरण र नदी तटीय क्षेत्रमा मानवीय अतिक्रमण, सहरीकरणलगायत कारणले पछिल्लो समय चराहरुको सङ्ख्यामा उल्लेख्य कमी आइरहेको उहाँको भनाइ थियोे । फोटोग्राफर श्रेष्ठकाअनुसार खोला आसपास क्षेत्रमा बढ्दो निर्माण, डोजर र ड्रिल आदिको प्रयोगले चराचुरुङ्गीको बासस्थान विनाश हुँदै गइरहेको छ । जल पक्षीहरुको सङ्ख्यामा कमी आउनाको अर्को कारक खोलाको पानी प्रदूषित बन्नु पनि रहेको छ । खोलामा जथाभावी फोहर फ्याँक्ने, ढल मिसाउने, विभिन्न उद्योग कलकारखाना आदिबाट फिल्टर नगरी वा प्रशोधन नगरी नदीमा सिधै पानी विसर्जन गर्ने गरिएकाले पनि पानीमा निर्भर रहने माछा, भ्यागुतो र किराहरूको अभाव हुन गई त्यस्मा निर्भर रहने चराहरुको संख्यामा समेत कमी हुन गएको चरा गणनामा संलग्न अर्का फोटोग्राफर चन्द्र चक्रधरले बताउनुभयो । “नदी प्रदूषणले गर्दा प्राकृतिक प्रणालीमा असर परेको देखिन्छ जस्का कारण खाद्य चक्रमा समेत असर परी चराहरुको सङ्ख्यामा कमी आएको छ,” उहाँले भन्नुभयो ।रासस