बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाउनुभएको छ । आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले आफ्नो प्रतिष्ठा गिराएको आरोप उहाँले लगाउनुभएको छ । मङ्गलबारदेखि बजारमा आउन लागेको आफ्नो पुस्तक ‘स्पेयर’ को प्रचार एवम् प्रवद्र्धनका क्रममा आइटिभी र सिबीएसलाई आइतवार र सोमबार दिएको अन्तर्वार्तामा पूर्वराजकुमार ह्यारीले दरबारभित्रका आफ्ना नितान्त निजी कुराकानी सनसनीपूर्ण खबर छाप्ने पत्रपत्रिकालाई क्यामिलाले उपलव्ध गराउनुभएको आरोप लगाउनुभएको हो । बेलायतका केही पुस्तक पसल मध्यरातदेखि खुला छन् शाही परिवारका तिक्तता र वैमनस्यबारेका विवरण समेटिएको स्पेयर बेच्न । पुस्तकमा पूर्व राजकुमार ह्यारी र उहाँकी पत्नी मेघनले आफ्नो शाही भूमिका र पद त्यागेर क्यालिफोर्नियामा सर्ने निर्णय गरेका सनसनीपूर्ण खुलासा गरिएको छ । अन्तर्वार्तामा ह्यारीले आफू र मेघनलाई सौतिनी आमाका कारण सञ्चारमाध्यमले सताएका तथा त्यसले आफ्ना दाजु विलियम र उहाँकी पत्नी केटसँग सम्बन्ध बिग्रएको बताउँदै सञ्चारमाध्यमले नै आफूहरूलाई सधैँ एकअर्काका विरूद्ध उभ्याएको उल्लेख गर्नुभयो । मेघन र केटबीचको सम्बन्ध पनि त्यस्तै बनाएको उहाँको आरोप छ ।रासस