प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेश्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र नउभिएको बताउनुभएको छ । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा उहाँले भन्नुभयो, “हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै र सबैप्रति कृतज्ञता व्यक्त गर्दै म एउटा परीक्षा दिन चाहन्छु, म फोटो झुण्ड्याउन र नाम लेखाउन मात्रै तेस्रोपटक प्रधानमन्त्री भएको होइन ।” उहाँले हरेक पटक संसदमा आफू उपलब्धिका ‘डाटा र रिपोर्ट कार्डका’ साथ उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वासको मत दिएमा संसदका हरेक माननीय सदस्यले गर्व गर्ने वातावरण बनाउनेछु । सबैको साथ र सहयोग लिएर राष्ट्र निर्माणमा होमिन यो सम्मानित सदनसँग प्रधानमन्त्रीका रूपमा म विश्वासको मतका लागि अनुरोध गर्दछु ।” प्रधानमन्त्रीले आज संसदमा गर्नुभएको सम्बोधनको पूर्णपाठ यसप्रकार छ । नवनिर्वाचित प्रतिनिधिसभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षको परिणाम हो । म सबैभन्दा पहिले उहाँहरूप्रति कृतज्ञता र उहाँहरूको सङ्कल्पप्रति सम्मान व्यक्त गर्दछु । हामी उहाँहरूको वलिदानले बाँधिएका छौँ । उहाँहरूको सङकल्पले हामीलाई डगमगाउन र विचलित हुन दिनेछैन ।रासस